वीरगञ्ज, २० फागुन – आसन्न निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै नेपाली सेनाले वीरगञ्जमा सञ्चालन गरेको विशेष सर्च अभियानमा तीन जना पक्राउ परेका छन्। सुरक्षा निकायले यस अभियानलाई ठूलो सफलताका रूपमा लिएको छ र यसले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन सहयोग गर्ने अपेक्षा गरिएको छ।
गएराति करिब २ बजेतिर श्रीजंग गण वीरगञ्जको नेतृत्वमा वीरगञ्ज महानगरपालिका वडा नं. १६ ईनर्वा क्षेत्रमा विशेष अपरेसन सञ्चालन गरिएको थियो। अपरेसनका क्रममा धार्मिक द्वन्द्व फैलाउने आशंकामा तीन जनालाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा कृष्ण यादव, रोहित पटेल र अवजित यादव रहेका छन्। उनीहरूको साथबाट ९ पिस सुतली बम, २ थान मोबाइल, १ थान पावर बैंक, १ थान चार्जर, ५ वटा सेतो तार र एक सुंगुरको टाउको बरामद भएको श्रीजंग गणका उपसेनानी विकास मरहठ्ठाले जानकारी दिए।
सुरक्षा निकायका अनुसार, बरामद सामग्रीले धार्मिक सद्भाव खल्बल्याउने र निर्वाचन प्रक्रियामा हस्तक्षेप गर्ने उद्देश्य देखाएको प्रारम्भिक अनुसन्धानले संकेत दिएको छ। नेपाली सेना निर्वाचन अवधिभर कुनै पनि साम्प्रदायिक वा अराजक गतिविधि हुन नदिन सतर्क रहेको जनाएको छ।
पक्राउ परेकामाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
