वीरगञ्ज, २१ बैशाख
वीरगञ्ज स्थित नारायणी रंगशाला जाने मुख्य सडक खण्डमा भ्रष्टाचार र अतिक्रमणको गम्भीर आरोप सार्वजनिक भएको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ अन्तर्गत पर्ने गौतम स्कुल अगाडिको उक्त सडक मूल रूपमा ५० फिट चौडाइको रहेको दाबी गरिँदै आएको छ, तर हाल यसको वास्तविक अवस्था साँघुरिएको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्।
स्थानीय बासिन्दाहरूका अनुसार सो सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) २०३६ सालमै तयार पारिएको थियो र २०४२ सालमा औपचारिक रूपमा उद्घाटन गरिएको थियो। योजनाअनुसार ५० फिट चौडाइको हुनुपर्ने सडक पछिल्लो समय अनधिकृत संरचना निर्माणका कारण खुम्चिँदै गएको उनीहरूको भनाइ छ।
उक्त बाटो चिनी मिल अगाडी रहेको बाईपास रोडमा निकालिएको हो।
अझ गम्भीर कुरा, वीरगञ्जका पूर्व मेयर विजय सरावगी र महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्बिन्द लाल कर्ण माथि नै सार्वजनिक सडक अतिक्रमण गरी घर निर्माण गरेको आरोप लागेको छ।
“रक्षक नै भक्षक भए भने सर्वसाधारणले कसरी न्याय पाउँछन्?” भन्ने प्रश्न स्थानीयहरूले उठाएका छन्।
स्थानीयहरूका अनुसार सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने जिम्मेवारी पाएका पदाधिकारीहरूबाटै यस्तो कार्य हुनु अत्यन्त गम्भीर विषय हो। उनीहरूले तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग गरेका छन्।
यस विषयमा सम्बन्धित निकायबाट आधिकारिक धारणा सार्वजनिक हुन बाँकी रहे पनि नागरिकस्तरबाट उठेको प्रश्नले महानगरपालिकाको कार्यशैलीमाथि नै प्रश्नचिन्ह खडा गरेको छ। स्थानीयले सडकको वास्तविक चौडाइ कायम गराउँदै अतिक्रमण हटाउन र दोषीलाई कानुनी दायरामा ल्याउन जोडदार माग गरेका छन्।
यता शहरी व्यवस्थापन र पूर्वाधार विकासमा पारदर्शिता आवश्यक रहेको भन्दै नागरिक समाजका प्रतिनिधिहरूले पनि यस्तो विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्। यदि समयमै समाधान नखोजिए यस्ता अतिक्रमणले भविष्यमा झनै जटिल समस्या निम्त्याउने चेतावनी दिइएको छ।
