सर्लाही
प्रेमसम्बन्धका कारण भएको एक हत्या प्रकरणमा संलग्न रहेका प्रेमिका सहित ६ जनालाई सर्लाही प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीले सोमबार पत्रकार सम्मेलन गरी हत्यामा संलग्न अभियुक्तहरूलाई सार्वजनिक गरेको हो।गत बैशाख ३० गते ईश्वरपुर नगरपालिका–८ स्थित उखुबारीमा २५ वर्षीय अरबिन्द

कुमार पण्डितको शव फेला परेको थियो। चन्द्रनगर गाउँपालिका–१, किसनपुरका पण्डित बैशाख २४ गतेदेखि बेपत्ता भएका थिए।
कुमार पण्डितको शव फेला परेको थियो। चन्द्रनगर गाउँपालिका–१, किसनपुरका पण्डित बैशाख २४ गतेदेखि बेपत्ता भएका थिए।
बेपत्ता भएपछि पण्डितका परिवारले ईश्वरपुर–६ चिरान टोलकी नजिमा खातुनलाई भगाएको भन्दै प्रहरीमा निवेदन दिएका थिए।
अनुसन्धानका क्रममा पण्डित र खातुनको प्रेमसम्बन्ध रहेको खुलेको छ। नजिमाको श्रीमान मोस्ताकिम अंसारी विदेशमा रहेका कारण, स्थानीय छलफलपछि पण्डित र खातुनलाई एउटै घरमा बस्न सहमति भएको थियो। तर, सामाजिक दबाब र आरोपका कारण खातुन तनावमा थिइन्।
प्रहरीका अनुसार, यही मानसिक तनावकै कारण खातुनले पण्डितको हत्या गर्ने योजना बनाएकी थिइन्। बैशाख २८ गते बिहान फुलजोर बाबा मन्दिर नजिक बोलाएर उनलाई फुलजोर खोलातर्फ लगिएको र त्यहीँ हत्या गरिएको अनुसन्धानबाट खुलेको छ।
बैशाख २९ गते राति पण्डितको शव उखुबारीमा फेला परेको थियो। घटनापछि अनुसन्धान अघि बढाउँदै जाँदा जेठ २ गते मोहम्मद मेमिनलाई पक्राउ गर्दा उनले मृतकले प्रयोग गर्ने चप्पल लगाएको पाइएपछि अनुसन्धान तीव्र पारिएको हो। मृतकका बाबुले पनि चप्पलको पहिचान गरेपछि घटनामा संलग्न अन्य व्यक्तिहरूलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ।
हत्या अभियोगमा पक्राउ पर्नेहरू यसप्रकार छन्:
•नजिमा खातुन (प्रेमिका)
•मोस्ताकिम अंसारी (खातुनका श्रीमान)
•मोहम्मद मेमिन (४३ वर्ष)
•सुयव अंसारी (४० वर्ष)
•कोनुर आलम अंसारी (२५ वर्ष)
•सलाउद्दिन अंसारी (५४ वर्ष)
अभियुक्तहरूलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप लिइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। प्रहरीको भनाइमा घटनाको थप अनुसन्धान जारी रहेको छ।
प्रतिक्रिया