काठमाडौं
बुधबार बिहान भोटेकोशीमा आएको भीषण बाढीपछि राहत तथा मानवीय सहायता सामग्री ढुवानीका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार भारतीय वायुसेनालाई उडान सञ्चालनको औपचारिक अनुमति दिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको हवाई यातायात विभागले बुधबार, जारी गरेको पत्रअनुसार भारतीय वायुसेनालाई ७२ घण्टाको उडान सञ्चालन अनुमति दिइएको छ । साथै, अनिवार्य यात्रु सेवा शुल्क बाहेक प्राधिकरणले लिने नियमित शुल्कमा छुट दिइएको छ।
राहत अभियानमा भारतीय वायुसेनाको सी–१७ ग्लोबमास्टर–३ हेभी–लिफ्ट विमान आउँदै छ । पहिलो उडान बिहीबारका लागि तय गरिएको छ। विमान भारतको हिन्डन एयर फोर्स स्टेसन गाजियावद बाट उडेर नेपाली समयअनुसार बिहान करिब ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। विमान काठमाडौंबाट बिहान ९ बजे भारतका लागि फर्किने तालिका छ।
उक्त उडानको मुख्य उद्देश्य कूटनीतिक तथा मानवीय सहायता रहेको छ । विमानमार्फत बाढी प्रभावित समुदायका लागि आवश्यक राहत सामग्री नेपाल ल्याइनेछ।
