पर्सा
कालिकामाई गाउँपालिकाका निवर्तमान अध्यक्ष स्वर्गीय नाथुनी कुशवाहाका छोरा डा. दिलिप कुशवाहा नेकपा एमालेमा प्रवेश गरेका छन्। पछिल्लो समय नेपाली कांग्रेसमा सक्रिय रहेका कुशवाहा एमालेमा प्रवेश गरेका हुन्।
वीरगञ्जमा आयोजित एक कार्यक्रममा नेकपा एमाले पर्साका जिल्ला अध्यक्ष विश्वम्भर शर्मा र कालिकामाई गाउँपालिका कमिटीका अध्यक्ष अनुप तिवारीले संयुक्त रूपमा टीका तथा माला लगाएर कुशवाहालाई पार्टीमा स्वागत गरेका हुन्।
पार्टी प्रवेशसँगै आगामी स्थानीय तहको निर्वाचनमा डा. कुशवाहालाई कालिकामाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउने विषयले स्थानीय राजनीतिक वृत्तमा चासो बढाएको छ। कालिकामाई गाउँपालिका कमिटीका अध्यक्ष अनुप तिवारीले डा. कुशवाहा आगामी निर्वाचनमा गाउँपालिका अध्यक्षको उम्मेदवार रहने बताएका छन्।
डा. कुशवाहा कालिकामाई गाउँपालिकाका निवर्तमान अध्यक्ष स्वर्गीय नाथुनी कुशवाहाका छोरा हुन्। उनको एमाले प्रवेशलाई आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित राजनीतिक गतिविधिका रूपमा समेत हेरिएको छ।
पार्टी प्रवेश कार्यक्रममा कालिकामाई गाउँपालिका–२ का वडाध्यक्ष सोनालाल चौरसिया, वडाध्यक्षका प्रत्याशी जितेन्द्र कलवार, पालिका कमिटी सचिव पन्नालाल चौरसिया, युवा संघका अध्यक्ष असलम आलम, धुरी साह गोणलगायत नेता तथा कार्यकर्ताको उपस्थिति थियो।
