मोरङ
मोरङको रतुवामाई नगरपालिका–५ गोविन्दपुरस्थित बक्राहा खोला बगरमा गाँजा तस्करीको आशंकामा प्रहरीले गोली चलाउँदा एक भारतीय नागरिक घाइते भएका छन्। प्रहरीले घाइतेसहित दुई जना भारतीय नागरिकलाई करिब १०० किलो गाँजासहित नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा भारतको अररिया जिल्लाको जोगबनी निवासी ३९ वर्षीय प्रमोद चौधरी र महागामा ग्राम पञ्चायत–४ निवासी ५० वर्षीय राजेन्द्रप्रसाद यादव रहेका छन्। प्रहरीका अनुसार नियन्त्रणमा लिने क्रममा चौधरीको घुँडामुनि गोली लागेको छ। घाइते चौधरीलाई थप उपचारका लागि रंगेली अस्पताल ल्याइएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार असोज २९ गते दिउँसो करिब १ः३० बजे गोविन्दपुरस्थित बक्राहा खोला बगरमा लुकाइछिपाइ राखिएको अवस्थामा आठवटा सेतो बोराभित्र ९६ किलो ४९० ग्राम गाँजा फेला परेको थियो। उक्त स्थानमा पुनः लागूऔषधको कारोबार हुन सक्ने आशंकामा इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले निगरानी गरिरहेको थियो।
सोही क्रममा राति करिब ९ः२५ बजे गाँजा लिएर भारततर्फ जाँदै गरेका व्यक्तिहरूलाई प्रहरीले फेला पारेको थियो। प्रहरीलाई देखेपछि उनीहरूले भाग्न खोजेपछि नियन्त्रणमा लिने क्रममा गोली चलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाका क्रममा हवाई फायर गरिएको थियो। त्यसपछि गोली लागेर घाइते भएका चौधरी र यादवलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका दुवै जनाको साथबाट थप गाँजासमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद गाँजा र पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय सिजुवामा राखेर थप अनुसन्धान भइरहेको सिजुवा प्रहरी प्रमुख कैलाश लिम्बूले जानकारी दिए।
