काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले नेपाल र भारतबीच हवाई यात्रा गर्ने यात्रुहरूलाई निश्चित मोडलका पावर बैंक नबोक्न आग्रह गरेको छ ।भारतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए)को सर्कुलरअनुसार (MOBIKING MK-PB-04) मोडलका पावर बैंक बोक्न प्रतिबन्ध लगाइएको निगमले जनाएको छ ।
भारतभित्र, भारतबाट वा भारततर्फ सञ्चालन हुने सबै उडानमा उक्त मोडलका पावर बैंक लैजान रोक लगाइएको हो ।यसै व्यवस्थालाई ध्यानमा राख्दै निगमले नेपालबाट भारत र भारतबाट नेपालतर्फ हवाई यात्रा गर्ने यात्रहरूलाई प्रतिबन्धित मोडलका पावर बैंक साथमा नलैजान आग्रह गरेको छ ।
केही दिनअघि भारतको राजधानी दिल्लीबाट चेन्नई जाँदै गरेको इन्डिगोको विमानमा यात्रुको झोलामा रहेको पावर बैंक विस्फोट भएर आगलागी भएको थियो । घटनापछि विमानलाई भारतको हैदराबाद विमानस्थलमा आपत्कालीन अवतरण गराइएको थियो ।भारतको नागरिक उड्डयन महानिर्देशनालयका अनुसार पावर बैंक र अतिरिक्त लिथियम ब्याट्री हाते सामानमा मात्रै राख्न पाइन्छ । उडानका क्रममा पावर बैंकबाट अन्य उपकरण चार्ज गर्नसमेत रोक लगाउन डीजीसीएले सिफारिस गरेको थियो ।
