Menu

आजको मौसम

कुशको शव बनाएर बारागढीका शर्माको दाह सँस्कार गरियो

Author
Shodh Khabar |
October 02, 2026
Featured

 


बारागढी (बारा), १६ असोज ।

 गत भदौ १० गते रसुवा जिल्लामा आएको विनाशकारी बाढीमा परि ज्यान गुमाएका बारागढीका सुबोध शर्माको कुशको शव बनाएर दाह संस्कार गरिएको छ । बारा जिल्ला बारागढी गाउँपालिका वडा नं. १ पिपरा टोल बस्ने भगवान शर्माको छोरा अन्दाजी २० वर्षीय सुबोध शर्माको आज शुक्रबार एक महिना ६ दिनसम्म शव नभेटिएपछि कुशको शव बनाएर दाह संस्कार गरिएको हो । 

स्थानीय आफ्ना जातीय समुदायका व्यक्तिहरुको पहलमा शर्माको ३६ औँ दिनमा दाह संस्कार गरिएको हो । ३६ औँ दिनसम्म शवको लागि आसमा बसेका परिवारजनले अन्नत शव नपाएपछि कुशको शव बनाएर दाह सँस्कार गरिएको मृतक शर्माका दाजु नवल शर्माले जानकारी दिए । उनको अनुसार बाढी आएदेखि नै बेपत्ता रहेको भाईलाई खोजी गर्न एक महिनासम्म धाउँदा पनि पत्ता नलागेपछि अन्ततः नेपाल प्रहरीले सार्वजनिक गरेको शव पहिचानको लागि वेभसाइटबाट फोटो हेरेर शव पहिचान गरेपछि शव नपाएकोले बाध्य भएर कुशको शव बनाएर दाहसँस्कार गरिएको बताए । 

उनले भने, ‘काठमाडौँ स्थित टिचिङ्ग अस्पतालमा गएर त्यहाँ राखिएको तस्विरलाई देखेर पनि आफ्नो भाईको शवलाई पहिचान गर्दा त्यही शवलाई पहिलादेखि नै ४ जना अन्य परिवारले आफ्नो आफन्त रहेको दाबी गरेको कारण डि.एन.ए. परीक्षण गर्न भनेको थियो, त्यस पश्चात डि.एन.ए. परीक्षणको लागि बुवाको रगत दिएको तीन हप्ताभन्दा बढी भइसकेकोतापनि हालसम्म शव पाएको छैन ।’ शव नपाएको कारण दाह संस्कार गर्न पनि एक महिनादेखि कुदै अन्ततः ३६ औं दिनमा कुशको शव बनाएर दाह सँस्कार गरिएको बताए । 

बेपत्ता भएका शर्माको शव भरतपुर स्थित आधुनिक तरिकाबाट गाडिएको छ तर डि.एन.ए. परीक्षण नभएको कारण शव परिवारलाई जिम्मा लगाइएको छैन । दाजुको शव लिन पुगेका नवल शर्माले भरतपुर स्थित जिल्ला प्रशासन कार्यालयले डि.एन.ए. परीक्षाको रिपोर्ट भेरिफाइ भएर आएपछि मात्रै शव परिवारको जिम्मा लगाउने भएपछि पीडित परिवार फर्केर आई कुशको शव बनाएर दाह सँस्कार गरेका हुन् । 

आज शुक्रबार दाह सँस्कार गरिएकोले आजदेखि १३ औं दिनमा काज किरिया गरिने बताइएको छ । शर्मा भर्खरै तीन महिना अघि मात्रै कामको सिलसिलामा रसुवा जिल्ला पुगेका थिए । र रसुवा जिल्लाको टिमुरे स्थित रसुवागढी हाइड्रोपावर कम्पनी लि. अन्तर्गत संचालित सेर्पा हाइड्रो कन्स्ट्रक्सन प्रा.लि.मा टायल मार्बलको काम गर्दै आएका थिए । उनी भदौ १० गते आएको विनाशकारी बाढीको दिनदेखि सम्पर्कविहीन भएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3