पर्सा ८ असार
भारतबाट चोरी पैठारी गरिएका प्रतिबन्धित ब्रोईलर जातका २५०० वटा कुखुराका चल्लाहरू सशस्त्र प्रहरीले नियन्त्रणमा लिई नष्ट गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुरबाट खटिएको टोलीले पर्सा जिल्लाको धोबिनी गाउँपालिका–१, घोडदौड नजिकैबाट भारतबाट अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा ती चल्लाहरू बरामद गरेको हो। ती चल्लाहरू २५ वटा कार्टुनमा भारतीय नम्बर प्लेटको मोटरसाइकलमार्फत नेपाल भित्र्याउने प्रयास भइरहेको थियो।
सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी देवेन्द्र बहादुर सिंहका अनुसार नियन्त्रणमा लिइएका कुखुराका चल्लाहरू आवश्यक कानुनी प्रक्रिया पुरा गरी स्थानीय जनप्रतिनिधि, संचारकर्मी तथा क्वारेन्टाइन कार्यालयका प्रतिनिधिहरूको रोहवरमा सशस्त्र प्रहरी बल नं. १३ गणको परिसरभित्र गाडेर नष्ट गरिएको हो।
उक्त अवैध पैठारी कार्यमा संलग्न व्यक्तिको रूपमा पर्सा जिल्ला, जगरनाथपुर गाउँपालिका–२ का करिब ५० वर्षीय साबिर अन्सारीलाई नियन्त्रणमा लिइएको छ। साथै प्रयोग गरिएको भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित बीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने पशु, कुखुरा तथा अन्य सामग्रीको अवैध ओसारपसार रोक्न नियमित गस्ती तथा निगरानी बढाएको जानकारी दिएको छ।
प्रतिक्रिया