वीरगञ्ज
असार ३२ गते बिहीबार आयोजना हुने श्री गहवामाई रथयात्रालाई मध्यनजर गर्दै सम्बन्धित कार्यालयसहितको संयुक्त अनुगमन टोलीले वीरगञ्जस्थित गहवामाई मन्दिर आसपास बिक्री–वितरण भइरहेका लड्डु तथा मिठाई पसल र उद्योगहरूको अनुगमन गरेको छ।
अनुगमनका क्रममा केही पसलहरूको किचेन सरसफाइ सन्तोषजनक नभएको, ढुसी लागेको लड्डु बिक्रीका लागि राखिएको तथा लड्डुमा अत्यधिक मात्रामा कृत्रिम रङ प्रयोग गरिएको भेटिएको थियो।
टोलीले तीनवटा फर्मबाट करिब २५ केजी लड्डु जफत गरी नष्ट गरेको छ। साथै, खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरेको भन्दै तीनवटै फर्मलाई जनही २०/२० हजार रुपैयाँ जरिवाना गरिएको छ।
यसका साथै आगामी दिनमा यस्ता गल्ती नदोहोर्याउन, खाद्य स्वच्छता कायम राख्न तथा उपभोक्तालाई गुणस्तरीय र सुरक्षित खाद्य सामग्री उपलब्ध गराउन सम्बन्धित व्यवसायीहरूलाई कडा निर्देशन समेत दिइएको छ।
