वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालबाट चोरी भएको एकदिने नवजात शिशुलाई प्रहरीले चोरी भएको करिब १६ घण्टापछि सकुशल फेला पारे
को छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
पर्साका प्रहरी प्रमुख पवन भट्टराईका अनुसार रातभर सञ्चालन गरिएको खोजी तथा अनुसन्धान अभियानपछि वीरगञ्ज महानगरपालिका–इनर्वाबाट नवजात शिशुसहित सबिना खातुनलाई नियन्त्रणमा लिइएको हो।
आइतबार राति अस्पतालमा उपचाररत नवजात शिशुलाई ‘खेलाउँछु’ भन्दै हजुरआमासँग मागेर एक महिला शिशुसहित बेपत्ता भएकी थिइन्। घटना सार्वजनिक भएपछि प्रहरीले तत्काल खोजी अभियान तीव्र बनाएको थियो।
प्रहरीका अनुसार पक्राउ परेकी खातुन इनर्वा क्षेत्रकै स्थानीय हुन्। हाल उनलाई शिशुसहित प्रहरी हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ।
सर्लाहीको रामनगर गाउँपालिका–३ बहुअर्वाकी रिन्कु देवीले शनिबार राति करिब ११ बजे शल्यक्रियामार्फत उक्त बालकलाई जन्म दिएकी थिइन्। जन्मिएको केही समयमै अस्पतालबाट शिशु हराएपछि परिवारले प्रहरीलाई जानकारी गराएको थियो।
